शिवरात्री र सेना दिवस

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २७, २०७७      0

शंकर मोक्तान । मुलुकको प्रमुख सुरक्षा अंगका रुपमा नेपाली सेनाले हरेक वर्ष शिवरात्रीका अवसरमा सेना दिवस मनाउंदै आएको छ । नेपालमा मनाइने सबै पर्वको आ–आफ्नै धार्मीक, साँस्कृतिक, सामाजिक एवम् ऐतिहासिक महत्व छ । महाशिवरात्रीलाई पनि धार्मीकसंगै साँस्कृतिक एवम् सामाजिक सहिष्णुताकोे पर्वका रुपमा लिईन्छ । महाशिवरात्री पर्वकै दिन नेपाली सेनाले ‘सेना दिवस’ मनाउदै आएको छ । मितिका हिसावले नेपाली सेनाको स्थापना कहिले भयो भन्ने एकिन नभए पनि दुई दशक अघि देखि महाशिवरात्रीका दिन सेना दिवस मनाउने गरिएको हो । सेना दिवसको अवसरमा नेपाली सेनाले विभिन्न सैन्यकौशल प्रदर्शन गर्दछ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको सांगठनिक स्वरुपको सुरुवात विक्रम संवत १८१९ साल देखि भएको हो ।

सांगठनिक इतिहास
पृथ्वीनारायण शाहले बाईसे चौविसे राज्यलाई सिंगो नेपाल बनाउने क्रममा एकिकरण अभियानलाई साकार बनाउन सेनालाई युद्ध अभ्यासका लागि तालिम दिने गर्थे । जुन बेला दक्षिण तर्फबाट अंग्रेजको दवदवा बढ्दै गएको थियो । सोही बेला सिंगो नेपाल बनाउने अभियान अन्तर्गत पृथ्वीनारायण शाहले नुवाकोट विजय हासिल गरे । नुवाकोट विजय पश्चात सात सय नाल बन्दुक जम्मा गरेर पांच कम्पनी गठन गरे । यहि पाँच कम्पनीको संगठन शुरुवात नै नेपाली सैनिक इतिहासको महत्वपूर्ण शुरुवात मानिन्छ । जुन कम्पनी नै सैनिक संगठनको इतिहासका रुपमा लिने गरिन्छ ।
१.श्री नाथ कम्पनी
२.श्री कालीबक्स कम्पनी
३.श्री बर्दबाणी कम्पनी
४.श्री सबुज कम्पनी
५.श्री गोरख कम्पनी
त्यसो त सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपालको सेना मैदानमा उत्रिँदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नो सैनिक संरचना स्थापना नभएकोले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पुरानो सैनिक संगठन समेत मानिन्छ । जुन बेला दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको हो । हाल नेपाली सेना नेपालको सुरक्षा संगठनात्मक इतिहासको सबैभन्दा बलियो र कुशल संगठनका रुपमा स्थापित छ । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९० हजारको हाराहारीमा छ । पछिल्लो समय नेपाली सेनामा महिला जनशक्तिको सहभागितामा पनि उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । अहिले ५,९९७ को हारहारीमा महिला जनशक्ति रहेको छ । राष्ट्रिय सुरक्षासँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

गौरवका आयोजना देखि विश्व शान्तिको जिम्मेवारी
नेपाली सेनाको जिम्मेवारीले अहिले राष्ट्रिय सुरक्षाको अतिरिक्त राष्ट्रिय गौरवका आयोजना देखि विश्वशान्ति स्थापनासम्मका जिम्मेवारी पाएको छ । द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणदेखि सडक निर्माण सम्मको काम नेपाली सेनाले गरिहेको छ ।
काठमाडौ –तराई जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक )
कालीगण्डकी करिडोर
कर्णाली करिडोर
बेनीघाट –आरुघाट – लार्केभन्ज्याङ सडक आयोजना
उत्तर दक्षिण कोशी सडक खाँदबारी किमांथाका सडक
दार्चुला –टिंकर सडक
मुलुकको विकासमा महत्वपुर्ण योगदान दिन कै लागि पनि नेपाली सेनाले गौरवका आयोजनाको काम गरिहेको छ । विकास संगै शान्ति स्थापनाका लागि नेपाली सेना अहोरात्र खटिरहेका छन् । संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न ४३ मुलुकमा नेपाली सैनिक शान्ति स्थापनार्थ तैनाथ छन् ।
हाल नेपाली सेना यमन कङ्गो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबिया लगायत ४३ मुलुकमा शान्ति सेनाका रुपमा परिचालित छ । शान्ति स्थापनाका लागि विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा ६८ सैनिकको बलिदान भइसकेको छ भने ६६ सैनिक घाइते छन् । नेपाली सेना र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली र अन्य मुलुकका सेनाका लागिसमेत अहिले नेपाली सेनाको संगठन, पेशागत क्षमता र दक्षता पाठशाला बन्दै गएको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

पछिल्लो समयमा नेपाली सेना मुलुकभित्रको विपद् व्यवस्थापनमा उदाहरणीय बनेको छ । भुकम्प र कोरोनाको महामारीमा नेपाली सेनाले आफनो जिम्मेवारी पूर्ण रुपमा निभाएको छ । आम जनतामा नेपाली सेना भरपर्दो छवी कायम गर्न सफल भएको छ । सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि वीरताका गाथा नेपालको इतिहासका पानामा स्वर्णीम अक्षरले लेखिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *