महाशिवरात्री धुमधामकासाथ मनाइदै

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २७, २०७७      0

एलिना के . सी । हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्री पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ । पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दूहरूको मुख्य पर्व । यो भगवान शिवको प्रमुख पर्व पनि हो । शिवजी उत्पत्ति भएको रात बाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

पशुपतिनाथमा दर्शन गर्न हरेक वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । पशुपतिनाथ मन्दिरमा तीर्थयात्रीको घुइँचो लाग्ने गर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *