कात्तिक १८– कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेपछि अझै पनि आफू प्रहरी कार्यालयमा रहेको राजपुतले बताइन् । उनी आफ्नो छोरा बलात्कारबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन् ।
उनले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् ।
सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो । डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ ।
जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका थिए ।
जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको थियो ।
Leave a Reply