लक्ष्मी अधिकारी,काठमाडौं । प्राथमिकतमा परेका नागरिकहरुका लागि सुरु गरिएको कोरोना विरुद्धको खोप लगाउने अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थगित गरेको छ । दोस्रो प्राथमिकतामा परेका नागरीकहरुका लागि सुरु गरिएको २० दिने खोप अभियान चैत्र ३ गते देखि स्थगित गरिएको हो । गत फागुन २३ गते देखि दोस्रो प्राथमिकतामा परेका नागरिकहरुलाई खोप लगाउन सुरु गरेपनि खोप अभियानको १० दिनपछि नै स्थगित भएको हो ।
गत फागुन २३ गतेदेखि खोप अभियान संचालन गर्दा स्वास्थ्य मन्त्रालयले अभियान दुई चरणमा हुने र पहिलो १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने र त्यस लगत्तै ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाउने जानकारी दिएको थियो । तर, सरकारले खरिद गरेको तथा कोभ्याक्स फ्यासिलिटी मार्फत नेपाल आउने भनेको खोप समयमा नआएपछि दोस्रो चरणको खोप अभियान स्थगित भएको मन्त्रालयको भनाइ छ ।
सरकारले ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई चैत्र ४ गते देखि खोप अभियान संचालन गर्ने तय गरेपनि अन्तिममा खोप नै उपलब्ध नभएपछि अभियान रोकिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको मिडिया ब्रिफिङ मार्फत ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिने सूचना पछि प्रकाशन गरिने जानकारी दिए । ‘दोस्रो प्राथमिकतामा परेका ५५ देखि ६४ वर्षसम्मका नागरिकहरुलाई पहिलो मात्रा खोप दिने सुचना खोप उपलब्ध भएपछि प्रकाशन गरिने छ’ उनले भने, ‘थप खोप प्राप्त हुनासाथ हामीले ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु गर्नेछौ ।’
फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाइसकेका नागरीकहरुका लागि दोस्रो मात्रा लगाउने मिति पनि स्वास्थ्य मन्त्रालयले पछि जानकारी दिने बताएको छ । तर पहिलो प्राथमिकतामा परी माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा खोपको पहिलो डोज लगाइसकेका व्यक्तिकहरुका लागि भने वैशाख ७ गतेदेखि ११ गतेसम्म खोपको दोस्रो मात्रा दिइने मन्त्रालयको भनाई छ ।
माघ १४ यता नेपालमा १६ लाख ४४ हजार बढीले कोरोना विरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply