धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । घटना पश्चात फरार रहेका चालक भीमबहादुर बुढाथोकीलाई सिआईबीले नेपाल-भारत सीमास्थित कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।
सल्यान घर भई छत्रेश्वरी गाउँपालिका–६ बस्ने भीमबहादुरले लामो समयअघिदेखि जेसीबी चलाउदै आएका थिए । घटना पश्चात उनी भागेर भारत स्थित सलोन जिल्लामा पुगेका थिए । त्यहाँ उनी आफ्नो दाजुसँग लुकेर बसेको सिआईबीका निर्देशक सहकुल थापाले बताए । नेपाल आउने क्रममा उनी गड्डाचौकीमा समातिएका हुन् ।
गएको फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करबाट ४५ वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन् । घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय कुमाललाई ठक्कर दिएपछि एक्स्काभेटर चालक बुढाथोकीले उद्वार गर्नुको साटो खाल्डोमा पुरेका थिए ।
Leave a Reply