शंकर मोक्तान । पछिल्लो समय अश्लिल भिडियो खिचेर बार्गेनिङ गर्ने गिरोह नै सक्रिय भएको पाईएको छ । गेस्ट हाउसमा बोलाएर लुकेर भिडियो खिच्ने र पैसाको बार्गेनिङ गर्ने समूहलाई प्रहरीले पक्राउ गरेपछि अपराधको नयाँ शैली बाहिरिएको हो । महानगरीय अपराध महाशाखा काठमाडौको टोलीले केही दिनको अन्तराल मै पाँच जनालाई पक्राउ गरेको छ । गत हप्ता प्रहरीले सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाललाई पक्राउ गर्यो । उनीहरुले एक वर्ष देखि चिनजानमा रहेका एक युवकलाई होटलमा बस्दा पैसा हराएको र सहयोग गर्न बोलाए ।
होटलमा बोलाएर अश्लिल हर्कत गर्न महिला आफैले उक्साउने, सहयोगीले लुकेर भिडियो खिच्ने र खिचिएको भिडियो मेसेन्जरमा पठाएर लाखौ बार्गेनिङ गर्ने गरेको पाईएको प्रहरीको भनाई छ । उनीहरुले ती युवकबाट तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरिरहेको बेला उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
यस्तै, महाशाखाको टोलीले आइतबार भिडियो खिचेर ब्याल्कमेलिङ गर्ने अर्को महिला गिरोहलाई पनि पक्राउ गरेको छ । महाशाखा कै टोलीले जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीय संगीता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीय सुस्मिता गिरी र नुवाकोट तादी नगरपालिका–३ घर भई स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाललाई पक्राउ गरेको हो ।
उनीहरुले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्टहाउसमा बोलाएर कोठाभित्र सँगै बसेको र अश्लिल हर्कत गरी साथीलाई गोप्य तरिकाले भिडिओ खिच्न लगाई सो भिडिओ पीडितलाई पठाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ । उनीहरुले आठ लाख रुपैयाँ नगद तथा शंकर खनालको नाममा रहेको बैंक खातामा पाँच लाख रुपैयाँ राख्न लगाएको प्रहरीको भनाई छ ।
के हो हनी ट्रयाप ?
शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरुले पुरुषलाई फसाउने कला हो–हनी ट्रयाप । जसरी झिँगा महको लोभमा मह खाएर उड्न खोज्छ, तर उड्न नसकेर ट्रयापमा पर्छ ।
त्यसैगरी हनी ट्रयापमा महिलाको शरीर प्रयोग गरिन्छ । युवतीले शारीरिक सम्वन्धको लालसा देखाउँछन् । र, अश्लिल भिडियो खिच्छन् । अनि पैसाको बार्गेनिङ गर्छन् । मागे जति पैसा नदिए बलात्कारको झुटो आरोप लगाउन समेत पछि पर्दैनन् । केटाहरुलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउने र अन्त्यमा पैसाका लागि ब्याल्कमेल गर्छन् । अहिले काठमाडौमा पक्राउ परेका महिलाहरु यस्तै हर्कत गरी पुरुषलाई फसाउँदै आएका हुन् ।
यस्ता गिरोहका महिलाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत चिनजान बढाउँदै पुरुषसँग मित्रता गर्छन् । उनीहरुको निशानामा प्रायः जसो अलि उमेर भएका र पैसावाला व्यक्तिहरु पर्ने गरेका छन् ।
Leave a Reply