विदेशी हाईप्रोफाईल नै बालयौनदुराचारमा संलग्न

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

शंकर मोक्तान । बालयौनदुराचारको अभियोगमा मंगलबार पोखराबाट अमेरिकन नागरिक माइकल नोरम्यान टेलोर पक्राउ परे । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले पोखरा महानगरपालिका–१८ सेदीबाट माइकल नोरम्यान टेलोरलाई पक्राउ गरेको हो । पछिल्ला केही वर्ष यता नेपाल घुम्न आउने बहानामा विदेशी नागरिकले बालिकामाथि यौनदुराचार गरेको घटना बढेको छ । मंगलबार पक्राउ परेका अमेरिकन नागरिक माईकल नोरम्यानको नेपाल आउजाउ बाक्लै थियो । प्रहरीका अनुसार उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको देखिएको छ । अमेरिकामा रहँदै उनी नेपालमा रहेका बालबालिका संग सामाजिक सन्जाल मार्फत नजिक हुने गरेको प्रहरीको भनाई छ ।

हालै मार्च २१ मा नेपाल आएका माईकल नोरम्यान पनि यौनदुराचारको मनसाय राखेर पोखरा गएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीका प्रवक्ता गंगा पन्तका अनुसार पक्राउ परेका माईकल नोरम्यान हाईप्रोफाईल व्यक्ति हुन् । क्यालिफोर्निया निवासी उनी अधिवक्ता भएको खुलेको छ । पटक–पटक नेपाल आउने क्रममा २०१९ मा ३ जना बालबालिकाहरुमाथि यौनदुराचार गरेको आरोप लागेको छ । प्रवक्ता पन्तका अनुसार सामाजिक सन्जाल मार्फत विभिन्न प्रलोभन देखाएर बालबालिकालाई नजिक बनाउने गर्थे । पछिल्लो केहि वर्षलाई हेर्दा कोही समाज सेवाको बहानामा त कोही गरीब, अशिक्षित र सडक बालबालिकामाथि यौनदुराचार भइरहेको प्रहरीको बुझाई छ ।

हाई प्रोफाईल यौनदुराचारी

२०७४ चैतमा काभ्रेको मण्डन देउपुर १ बाट क्यानडाका पिटर जोन डलग्लिस पक्राउ परे । उनको पृष्ठभूमी हेर्दा बालयौन दुराचारी होलान् भनेर कसैले सोच्नै सक्दैनन् । राष्ट्रसंघका जागिरे, युएन ह्याबिट्याटको अफगानिस्तान प्रमुख, विश्व स्वास्थ्य संगठनमा सिनियर अर्बान एडभाईजर, ३ वटा मानार्थ विद्यावारिधी पाएका व्यक्ति । नेपालमा हिमालयन कम्युनिटी फाउन्डेशन सन्चालन गर्थे । मंगलबार पक्राउ परेका अमेरिकन नागरिक माईकल नोरम्यान पनि अधिवक्ता हुन् । उनी अमेरिकामा वकालत गर्छन् । हाईप्रोफाईल व्यक्तिहरुको अपराधलाई हेर्दा विश्वास गरिहाल्न नसकिने र विदेशी भन्दैमा विश्वास नगर्न सिआइवीले सबैसंग आग्रह गरेको छ ।

निशानामा नेपाली बालबालिका, प्रलोभनमा पार्छन

यौन दुराचारीले समाज सेवाको आवरणमा गरीब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीको झुट्टो आश्वासन दिन्छन् । बालबालिकालाई पढाइदिने, जागिर लगाइदिने लोभ देखाउँछन् । यौन दुराचारीको नजर गरीब मुलुकमा देखिएका छन्

‘ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम’ नामक अध्ययन प्रतिवेदन अनुसार विश्वका जुनसुकै देशका यौनदुराचारीको निशानामा नेपालका बालबालिका रहेको देखिन्छ । उक्त प्रतिवेदनले अन्य एसियाली मुलुकका बालबालिकासमेत असुरक्षित रहेको उल्लेख गरेको छ । नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यासहितका मुलुकमा बालबालिका यौनदुराचारीको निशानामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीका अनुसार विदेशी बाल यौन दुराचारीको कब्जाबाट उद्धार गरिएका सामान्य परिवारका बालबालिका रहने गरेका छन् । दुर्गम गाउँका, सडक बालबालिका र होटलका काम गरिरहेका बालबालिकाहरु दुराचारीहरुको नजरमा पर्छन् । अधिकांश बालबालिकालाई दुराचारीले प्रलोभन देखाएर फसाउने गरेको देखिएको छ । दुईवर्ष यता दर्जनौ यौनदुराचारी पक्राउ परेका छन् । यस्ता अपराधमा बढी युरोपेली र अमेरिकी नागरिक संलग्न रहेको पाइएको छ । जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्स लगायतका विदेशी नागरिक पनि बालयौनदुराचारमा लागेको पाइएको छ ।

कानुनी कारबाही

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार, कसैले करणीको आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनाङग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने दफा २२६(२) मा उल्लेख छ । पक्राउ परेकाहरू सजिलै छुट्ने र सरकारले बाल यौन दूराचारलाई गम्भीर प्रकृतिको अपराधका रूपमा नलिने प्रवृत्तिले पनि नियन्त्रणमा समस्या निम्त्याएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *