विद्युत प्राधिकरणको देशैभरका उद्योगहरुमा अघोषित लोडसेडिङ

 ग्लोवल टि.भी.      आइतवार, चैत्र २०, २०७८      0

चैत २०- नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गर्न थालेको छ । साँझदेखि १४ घण्टा लोडसेडिङ व्योर्हनुपर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीको गुनासो छ ।

सुनसरीको इटहरी र मोरङको विराटनगरमा सञ्चालित अधिकांश दैनिक १२ देखि १४ घण्टा लोडसेडिङ हुन थालेपछि उद्योगी चिन्तित छन् । विद्युत् प्राधिकरणले कुनै जानकारी नै नदिई एक सातादेखि बेलुकी ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती गरिरहेको उनीहरूको भनाइ छ ।

उद्योगलाई चाहिने विद्युत् उपलब्ध गराउने आफ्नै प्रतिबद्धताविपरीत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको उद्योगीको गुनासो छ । रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवाल लामो समय यो क्रम चले धान्न नसक्ने बताउँछन् ।

मिल्सका व्यवस्थापक महेशकुमार पोखरेल ४ हजार कर्मचारी भएको उद्योग १० घण्टा मात्रै चलाउनुपर्दा लागत बढेको दाबी गर्छन् । पहिले जडान गरिएका जेनेरेटर तथा डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

त्यस्तै, विराटनगरमा सञ्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवाल बैंकको ब्याज, ढुवानीको लागत बढेको अवस्थामा १४ घण्टासम्म लोडसेडिङ थेग्न नसक्ने बताउँछन् । ५० प्रतिशत कच्चा पदार्थ कटौती गरेर उत्पादन गर्नुपरेको भन्दै यसरी उद्योग चल्न नसक्ने उनको भनाइ छ ।

त्यसो त प्राधिकरणले एक साताअघि काठमाडौंमा पत्रकार सम्मेलन उद्योगमा चाहेको जति विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै उद्योगीले विरोध जनाइरहेका छन् ।

उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने बताएका छन् । करिब साढे ३ सय मेगावाट बिजुली अभाव भएको भन्दै प्राधिकरणले ठूला उद्योगमा राति बिजुली काट्न थालेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *