त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धामा उत्रिदै छन् । लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनलमा नेदरल्याण्ड्सलाई हराएर उपाधि जित्ने दाउमा छ ।
उता, नेदरल्याण्ड्स पनि नेपालकै घरेलु मैदानमा नेपालमाथि नै जित निकालेर उपाधि रक्षा गर्ने प्रयासमा छ । यस कारण पनि दिउँसो सवा एक बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल रोचक हुनेछ । नेपालले नेदरल्याण्ड्ससंग हालसम्म १० टी–ट्वान्टी खेल खेलेको छ । जसमा ८ अन्तराष्ट्रिय टी–ट्वान्टीमा नेपालले ३ वटामा जित निकालेको छ । नेदरल्याण्ड्ले भने ४ अन्तराष्ट्रिय टी–ट्वाण्टीमा जित निकालेको छ । एक खेल भने नतिजा बिहीन थियो ।
यस सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्ड्संगको दोस्रो खेलमा भने नेपालले ३ विकेटको पराजय भोगेको थियो । नेपाल दोस्रो हारको बदला लिएर उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ भने नेदरल्याण्ड्स विजयलाई निरन्तरता दिएर उपाधि कब्जा गर्न चाहन्छ ।
Leave a Reply