फागुन ३ – २४औँ आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको टोली ब्ल्याक बुल्स एफसीले जितेको छ ।
शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित निकाल्दै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
ब्ल्याक बुल्सको जितमा जाखोन्गिर अखमाडोभ, असिलबेक ओरिफजोनोभ र जाखोन्गिर मख्मुडोभले समान एक गोल गरे । पुलिसका शिशिर चौधरीले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
३६औँ मिनेटमा जाखोन्गिर अखमाडोभले गोल गर्दै उज्वेकिस्तानको टोलीलाई अग्रतामा राखेका थिए । ५९औँ मिनेटमा असिलबेकले पाहुना टिमको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि नै जाखोन्गिर मख्मुडोभले ब्ल्याक बुल्सको अग्रतालाई ३–० मा पुर्याए । ७४औँ मिनेटमा शिशिर चौधरीले हेडर गोल गर्दै पुलिसलाई ३–१ को स्थितिमा ल्याए पनि टिमको हार टार्न भने सकेनन् ।
जितसँगै उज्वेकिस्तानको टोलीले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ पुरस्कार पाएको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले भने ६ लाख एक हजार रुपैयाँ पाएको छ।
मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणमा कुल १२ टोलीको सहभागिता थियो । जसमा १० नेपाली र दुई विदेशी क्लब सहभागी थिए ।
Leave a Reply