एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै

 ग्लोबल टिभि           0

असार १८ – उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।

यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई खेलाएको थियो भने सरस्वती हमाललाई पहिलो रोजाइमै डेब्यू गराएको थियो । उज्बेकिस्तानको अन्तिम खेल महत्वपूर्ण भएकोले प्रशिक्षकले सुरुका खेलमा फरक रणनीति प्रयोग गरेको पनि हुन सक्छ । पहिलो खेल प्रीति राई, रेखा पौडेल, पुजा राना लगायत खेलाडी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । श्रीलंका विरुद्धको खेलमा पनि प्रशिक्षकले यस्तै खालको रणनीति बनाउन सक्छन् ।

पहिलो खेल जितेपछि खेलाडीहरुले राम्रो खेलेको भन्दै प्रशंसा गरेको प्रशिक्षक प्याट्रिकले अब आउने खेलहरु पनि यस्तै किसिमले खेल्नुपर्ने बताएका थिए । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । श्रीलंकासँग खेलेको ८ वटै खेल नेपालले जितेको छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । यही समूहको अर्को खेलमा उज्बेकिस्तानले श्रीलंकालाई १०-० को फराकिलो अन्तरले हराएको थियो । फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।

समूहमा शीर्ष रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *