अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४–१ ले पराजित गरेको छ ।कीर्तिमानी खेलाडी कप्तान लिओनल मेस्सीको दुई गोलले अर्जेन्टिनाले शानदार जित हात पारेको हो ।यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना बोलभिया विरुद्ध जित हासिल गरेपछि समूह ‘ए’ को विजेता बनेको छ ।
अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ ।ब्राजिलको एरेना पान्तानालमा भएको खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । बोलिभियासँग खल्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान समेत जोडेका छन् ।
बोलिभियाविरुद्धको खेलमा मेसीले सर्वाधिक १४८औं खेल खेलेका छन् । सन् २००५ मा हंगेरी विरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोल समेत गरिसकेका छन् ।
यसअघि मेस्सीले ज्याभिएर मास्केरानोसंगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । खेलको छैटौं मिनेटमै मेस्सीको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे ।
४२औं मिनेटमा मेस्सील सर्जियो अगुएरोको पासमा गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले एक गोल गरे । लाउटारो मार्टिनेजले ६५औं मिनेटमा गोल हानेका थिए । बोलिभयाका लागि एर्विन साभेद्राले ६०औं मिनेटमा एक गोल गरेका थिए । अर्जेन्टिना अब क्वाटरफाइनलमा इक्वेडरसँग जुलाई ३ भिड्ने भएको छ।
Leave a Reply