काठमाडौं : युरोकप २०२० अन्तर्गत आज क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन्।
चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति ९: ४५ बजे हुनेछ। चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन्। दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।
चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो। डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई हराएको थियो । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो।
इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२: ४५ बजे हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्। इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले भने स्वीडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो।
इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ। आजको खेलसँगै युरोकपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
Leave a Reply