नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। विजेता जोकोभिचले हंगेरीका मार्टन फुक्सोविसलाई पराजित गरेरअन्तिम चारमा स्थान बनाएका हुन्।
जोकोविचले मार्टनलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्। सर्बियन जोकोभिचले १० औँ वरियताका डेनिस शापोभालोभसँग शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्।
क्यानडियन डेनिसले २५ औँ वरियताका रुसी खेलाडी करेन खचानोभलाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।
फाइनल जितेमा उनले रोजर फेडेरर र राफायल नाडालको सर्वाधिक ग्राण्डसलामको कीर्तिमानमा बराबरी गर्ने छन्।
बुधबार नै भएको खेलमा रोजर फेडेरर भने पराजित भएका छन्। स्विस खेलाडी क्वाटरफाइनलमा हुबर्ट हुरकाजको हातबातसँग सिधा सेटमा पराजित भएसँगै नवौँपल्ट विम्बल्डन जित्ने रोजर फेडेररको सपना समाप्त भएको छ।
सेमिफाइनल प्रवेशका लागि भएको खेलमा हुरकाज ६–३, ७–६ र ६–० ले विजयी बने। २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले अल इंग्ल्यान्ड क्लबमा कुनै सेट शून्यमा गुमाएको यो पहिलो पल्ट हो।
Leave a Reply