१६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।
इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताए ।
इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।
उता , इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास रच्ने योजनामा छन् ।
Leave a Reply