एजेन्सी । अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ ।
पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।
दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।
त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए ।
इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई ‘ह्यान्ड अफ गड’ भन्ने गरिन्छ । किनकी उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।
अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।
उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।
Leave a Reply