पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो ।नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ ।
पछिल्लो तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।
त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो ।
Leave a Reply