आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिका विरुद्ध नेपाल ५ विकेटले विजयी, आज ओमानसँग खेल्ने ।।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिने अन्तर्राष्ट्रिय श्रृखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ र रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको कीर्तिमानी साझेदारी हो ।
यस अघि नेपालको उच्च साझेदारी ६१ रने थियो । आसिफ २३ रनमा आउट भए । एकदिवसीय अन्तराष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने रोहित पहिलो नेपाली खेलाडी बने । विनोद भण्डारीले ३७ रन बनाए । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २÷२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।
अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ र करिमा गोरेले १६ रन जोडे । नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २÷२ विकेट लिए । जितसँगैे ५ खेलमा ६ अंक जोडेर नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । आज नेपालले घरेलु टिम ओमानसँग खेल्नेछ । लिग–२ विश्वकप छनोटको एक रुप हो । लिग–२ मा एक टोलीले ९वटा श्रृखलामा कुुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
Leave a Reply