एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ओमानमाथि नेपालको पहिलो जित, नेपालसंग ओमान ७ विकेटले पराजित ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तीनदेशबीचको एकदिवसीय अन्तराष्ट्रिय श्रृखलाको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ओमानमाथि नेपालको यो पहिलो जित ओ । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए ।
लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो । ओपनर आसिफले ४० रन बनाए । ओमानका नेस्टर धाम्बाले २ विकेट लिए ।
यो खेलमा पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४÷४ तथा शरद भेषवाकरले २ विकेट लिए । यो श्रृखलाका ४ मध्ये नेपालले २ खेल जितेको छ । नेपालले आठ वर्षपछि ओमानलाई हराएको हो । ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंकसंगै पहिलो तथा अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ ।
Leave a Reply