नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार मन्त्रालय पुगेर संघले मन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको पत्रमा ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता रोकिएको र कार्यविधिमा कटौती नहुने गरी यथासम्भव उपलब्ध गराइनु पर्ने लगायत माग रहेका छन् ।
प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गर्नुलाई सकारात्मक पहलका रुपमा लिएको पनि संघले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र परिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका वातावरण तयार गरिनु पर्ने लगायतका माग संघले अघि सारेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले खेलका लागि जिवन समर्पित गर्ने खेलाडीलाई सरकारले निराश हुन नदिने बताए । खेल क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
Leave a Reply