राजधानीमा जारी प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा सदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली प्रदेश माथि ४७ रनको जित दर्ता गर्दै समूह बीमा २ अंक जोड्न सफल भयो । पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सदुरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९.१ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा रोकिन पुग्यो ।
कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाउँदा अर्जुन घर्तिले ३० रनको योगदान गरे । कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा हेमन्त डाँगीले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा बसन्त कार्कीले २८ तथा दीपक बोहोराले २५ रनको योगदान गरे ।
उता, मूलपानी मैदानमा भने प्रदेश १ र त्रिभुवन आर्मीबीचको खेल भने मैदान चिसो भएका कारण शुरु हुन सकेको छैन ।
Leave a Reply