
वैशाख ३०-स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बनिसकेको रियल मड्रिडले फराकिलो जित निकालेको छ । रियलले बिहीबार राति भएको खेलमा लेभान्टेलाई ६-० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गोल गरे । खेलको १३ औं मिनेटमा फेर्लाण्ड मेन्डीले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
१९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । गोलसँगै बेन्जिमा रियलको लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरे ।
बेन्जिमाले २२३ गोल गर्दै पूर्व खेलाडी राउलको कीर्तिमान बराबरी गरेका हुन् । रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । उनले ४५० गोल गरेका छन् ।
खेलको ३४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ३-० ले अघि रह्यो । त्यसपछि खेलमा जुनियर चम्किए । ४५ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता ४-० को बनाए ।
जुनियरले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले ह्याट्रिक पूरा गर्दै रियललाई ६-० को फराकिलो जित दिलाए ।

Leave a Reply