जेठ १४-रोयल च्यालेन्जर्स बैंग्लोरका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई इन्डियन प्रिमियरलिग (आईपीएल)को आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरिएको छ।
कार्तिक लखनऊ सुपर जाइन्ट्स विरुद्धको एलिमिनेटर खेलमा आचारसंहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएका हुन्। तर, उनको गल्तीबारे आईपीएलले कुनै स्पष्ट जानकारी दिएको छैन।
आईपीएलले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘दिनेश कार्तिकलाई आईपीएल आचारसंहिताको धारा २.३ अन्तर्गत लेभल–१ मा दोषी ठहर गरिएको छ। उनले पनि स्वीकार गरिसकेका छन् र यस विषयमा म्याच रेफ्रीको निर्णय नै अन्तिम छ।’
बैंग्लोरका लागि फिनिशरको भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका कार्तिकले लखनऊविरुद्धको एलिमिनेटर खेलमा पनि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए।
उनले खेलमा २३ बलमा ३७ रन बनाए र अन्तिमसम्म अपराजित रहे। कार्तिकले रजत पाटीदार (१२८*) सँग ४१ बलमा ९२ रनको अटूट साझेदारी गर्दै बैंग्लोरको स्कोर २० ओभरमा ४ विकेट गुमाएर २०७/४ मा पुर्याएका थिए।
Leave a Reply