पुस १३ – स्पेनको बी डिभिजनको काथेरेन्यो क्लब मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार पोखरा पुगेको छ ।
‘शान्तिको लागि फुटबल’ भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिस टोली र गण्डकी प्रदेशबीच आज अपराह्न पोखरा रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सो खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
खेलअघिको पत्रकार सम्मेलनमा लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष कालोसले बुद्धको जन्म भूमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “स्पेनको मिडियासहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनुभनेको नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन मद्दत पुग्छ ।”
काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुयलले आफूहरुको क्लब स्पेनको बि डिभिजनको माथिल्लोस्तरको क्लब भएको बताउँदै अब ए डिभिजनको लागि तयारी गरेको जानकारी दिए । आफ्नो टोलीमा व्यावसायिक फुटबलर भएकाले मैत्रीपूर्ण खेल उत्कृष्ट हुने अपेक्षा गरिएको बताए ।
गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले केही दिनदेखि खेलको तयारी भइरहेको बताउँदै घरेलु मैदानको फाइदा लिने गरी खेल्ने बताए । राष्ट्रिय टिमका पूर्वखेलाडी तथा युवा खेलाडी भएकाले आफ्नो टिम निकै सन्तुलित भएको उनको भनाइ छ ।
गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको एक क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकको लागि ठूलो उपलब्धि भएको बताए । काठमाडौँमा मंगलबार बिहानमात्र स्पेनको टोली आइपुगेको हो । सो टोली हवाईमार्गबाट मंगलबारनै पोखरा ओर्लिएको हो । स्पेनको सो टोलीले काठमाडौँमा पनि मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।
Leave a Reply