माघ १३– केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुनमा काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म संचालन हुने जनाएको छ ।
प्रतियोगितामा ए डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागी टोलीको घोषणा पछि गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।
पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी गराए।
पौडेलले केपी ओलीको राजनैतिक लिगेसीलाई स्पोर्ट्समा लैजाने उदेश्यले प्रतियोगिता आयोजना गरिएको समेत बताए।
अध्यक्ष पौडेलले यस प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताए ।
प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको राष्ट्रिय युवा संघ सदस्य तथा एन्फाका उपाध्यक्ष दिपक खातीले जानकारी गराए ।
Leave a Reply