काठमाडौँ – एकपछि अर्को गर्दै सरकारका मन्त्रीहरु कोरोनाबाट संक्रमित हुन थालेपछि सरकारको कार्य सम्पादनमा समस्या उत्पन्न भइरहेको छ । नेकपाभित्रको आन्तरिक बहसले पार्टी र सरकार सञ्चालनमा असहजता पैदा भईरहँदा मन्त्रीहरु कोरोना संक्रमणबाट आइसोलेशनमा रहँदा सरकारको काम झनै प्रभावित हुने देखिन्छ ।
सत्तारुढ नेकपाको आन्तरिक विवादले सरकारको कामकारवाहीमा असहजता थपिरहेका समयमा संघीय मन्त्री समेत धमाधम कोरोना संक्रमित भएपछि चिन्ता बढेको छ । खाली मन्त्रालयले नेतृत्व पाउन नसकेको समयमा बहालवाला मन्त्रीहरु समेत काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकारको कामबारे प्रश्न खडा भएको हो । विश्लेषक भने यस्तो प्रतिकुल अवस्थामा पनि मन्त्रीहरूको कार्यशैली सन्तोषजनक नदेखिएको टिप्पणी गर्छन्
अहिले पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल कोरोना संक्रमित भएर उपचारका क्रममा छन् भने संघीय मन्त्री हृदयेश त्रिपाठी पनि स्वास्थ्य समस्याकै कारण उपचारका क्रममा छन् । सरकार सहज रुपमा सञ्चालन नभइरहेकै अवस्थामा एउटै मन्त्रीलाई दोहोरो तेहोरो जिम्मेवारी दिँदा अवस्था के होला भन्ने आशंका पनि उत्पन्न भएको छ । तर नेकपाका नेता भने उल्लेख्य उपलब्धि हासिल नभए पनि राम्रो काम भएको भन्दै सरकारको बचाउ गर्छन् ।
मुलुक कोरोना कहरमा फसेका वेला पनि नेताहरु सत्ता र शक्तिको संघर्षमा लागेर नागरिकका पीडालाई बेवास्ता गर्दै आइरहेका छन् । एकातिर संक्रमणको जोखिम अनि अर्कातिर मन्त्रीहरुको फितलो कार्य ले देश कतातिर जाला भन्ने अहिलेको चिन्ताको विषय हो ।
Leave a Reply