गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको आइतवार ६ वर्ष पुगेको छ । भूकम्पका कारण १४ जिल्ला अति प्रभावित र १८ जिल्ला कम प्रभावित गरी ३२ जिल्लामा जनधनको ठूलो क्षति भएको थियो ।
९ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भूकम्पले आठ लाखभन्दा बढी घर भत्किएका थिए भने ७ हजार ५ सयभन्दा बढी विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनःस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको छ । अनुदान सम्झौता गरेका आठ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेकाको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको छ । पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशतले लिएका छन् ।
प्राधिकरणका अनुसार हालसम्म ८३ प्रतिशत विद्यालय बनिसकेका छन् भने १७ प्रतिशतको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ । त्यस्तै क्षति भएका ४०२ गुम्बामध्ये २९४ वटाको सम्पन्न भइसकेको छ ।
त्यस्तै क्षति भएका एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण भइरहेको छ । कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ५२५ किलोमिटर सडक बनेको छ ।
क्षतिग्रस्त ९२० मध्ये ४९३ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने २८८ वटाको पुनर्निर्माण भइरहेको प्राधिकरणको भनाइ छ । बौद्ध, स्वयम्भू लगायतका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ भने रानीपोखरी, धरहरालगायत ऐतिहासिक सम्पदाको पनि पुनर्निर्माण सम्पन्न भएको छ ।
त्यस्तै राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग, केशरमहल, बबरमहल, बालमन्दिर र नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायत पुरातात्त्विक महत्त्वका दरबारको पुनर्निर्माण भइरहेको प्रधिकरणले जनाएको छ ।
त्यस्तै बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्त्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा रहेको प्रधिकरणको जनाएको छ ।
पुनर्निर्माणमा नेपाललाई छिमेकी तथा मित्रराष्ट्रहरुबाट ठूलो मद्दत मिलेको छ । दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । यसमध्ये २ सय ४३ अर्ब रुपैँयाका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ ।
यसका अलावा गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ । यसरी हेर्दा नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको शतप्रतिशत रकम परिचालन हुने सुनिश्चत भएको छ । सम्पूर्ण दातृ निकाय एवं मित्रराष्ट्रहरुले नेपालको पुनर्निर्माणबाट भएको प्रगतिप्रति खुशी व्यक्त गरेका छन् ।
पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैयाँ हो । यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायको समेत गरी २०७७ चैत्र मसान्तसम्म कुल ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
Leave a Reply