सर्वोच्च अदालतः १४६ सांसदको रिटमाथिको सुनुवाई शुक्रबार हुने

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

सर्वोच्च अदालतमा सशरिर उपस्थित भएर सोमबार दायर भएको रिटको शुक्रबार सुनुवाई हुने भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसद एक सय ४६ जनाले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश दिइनुपर्ने मागसमेत गरिएको छ ।

सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । केपी ओलीको पक्षबाट पनि चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको बिरुद्धमा छन् । २८ वटा रिटमध्ये ९ वटा रिट संवैधानिक इजलासमा सोझै जान्छन् । बाँकी १९ वटा रिटको पेशी सामान्य बेञ्चबाटै तोकिन्छ ।

आज मंगलबार सबै निवेदनहरू कम्प्युटरमा इन्ट्री हुने, बुधबार बुद्धजयन्तीका कारण सार्वजनिक विदा र विहिबार संवैधानिक इजलास बस्ने भएकाले सम्भवतः शुक्रबार मात्रै रिट सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

पर्सि बिहीबार बस्न सक्ने ‘जनरल बेन्च’ को एकल इजलासले १९ वटा रिटबारे जे आदेश गर्छ, त्यहीअनुसार मुद्दा प्रक्रिया अघि बढ्ने सर्वोच्च स्रोतको भनाई छ ।

जेठ ७ गते १४९ जना बहुमत सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले प्रधानमन्त्री नियुक्तिका लागि शितल निवासमा बुझाएको पत्र राष्ट्रपति विद्या भण्डारीले स्पष्ट बहुमत नदेखिएको भन्दै खारेज गरेकी थिइन् ।

सोही दिनको मध्यरात प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको सिफारिसलाई सदर गरेकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *