जेठ १३ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताएका हुन् ।
उनले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताएका छन् । उनले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप समेत लगाए । उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवद्ध पदाधिकारीहरुलाई छानविनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे । उनले कार्यादेशमा सहमती भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रश्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
उनले भने – ‘कार्यदल बैठकमा काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ छौँ । कार्यदलको बैठकमा नेपाली काँग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ । त्यसकारण नेपाली काँग्रेस पार्टी जहाँ अडिएको छ, रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ । उठाएको अडानमा त्यहीँ छौँ । जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरु, त्यहाँ भएका व्यक्तिहरु जो–जो छानविनको दायरामा ल्याउनुपर्छ, त्यो छानविनको दायरामा नल्याएसम्म नेपाली काँग्रेसले मान्नेवाला छैन । यदि सत्तापक्षले टिओआरमा सहमती ग¥यो । भोलिसम्म सहमती गरेर टिओआर बनेर छानविन समिति बन्यो संसदबाट भने सहज ढंगबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद चलाउनु लोकतन्त्रकै उपहास हो ।’
नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताएका छन् । उनले गृहमन्त्रीमाथि छानविन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताउनु भयो । उहाँले सडक आन्दोलन समेत शुरु भएको जानकारी दिए ।
उनले भने – ‘प्रतिपक्षलाई मर्यादापालकको घेराबन्दीमा राखेर, जर्बजस्ती दादागिरीको भरमा जसरी आज नीति तथा कार्यक्रम पास भयो । दुःखद् कुरा भएको छ । पीडितहरु आन्दोलित हुनुहुन्छ । हामी जनताको पक्षमा छौँ । अब हामी सडकमा पनि जादैछौँ । जबसम्म जनताको लाखौँ वचत अपलचन भएको छ, त्यो जबसम्म फिर्ता हुँदैन । गृहमन्त्रीको छानविन समिति जबसम्म गठन हुँदैन । तबसम्म नेपाली कांग्रेस पार्टी कुनै हालतमा पछाडी हट्दैन ।’
नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाएका छन् । वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताए । उनले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताएका छन् ।
उनले भने – ‘बिपीको नाम लिन सबैको अधिकार छ । तर बिपीले सहकार्य शुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको शुरुवात गर्नुभएको थियो । त्यो अवधारणा आज देखिएको छ त ? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ, उहाँले रोष्टममा बिपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ । सहकारी ठगहरुलाई बिपीको नाम लिने अधिकार छैन है । आज स्वर्णिमजीले नाम लिनुभयो । उहाँ सहकारी ठगको मतियार हो ।’
उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन् ।
Leave a Reply