काठमाडौँ : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने सांसदहरूको हस्ताक्षर सनाखत गरिएको छ ।
किर्तेको प्रश्न नउठोस् भनेर सांसदहरूको हस्ताक्षर सनाखत गरिएको हो । यसअघि शुक्रवार दिउँसो कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले उनलाई साथ दिएका छन् ।
यसअघि बिहीवार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत मागेका थिए । तर, पक्षमा २७ मत मात्रै आएपछि उनी पदमुक्त भएका थिए । उनी पदमुक्त भएसंगै संविधानको धारा एक सय ६८ (५) बमोजिम सरकारको दाबी गर्न प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी थिइन् ।।
Leave a Reply