माघ १५- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन् । म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए ।
जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरुसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति प्रचण्डको थियो । हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए । यस्तै उनले एकपछि अर्को गरी पार्टी विभाजनको ऋंखला रोक्न नसकिएको स्वीकार गरे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको उनले बताए ।
उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेण्डा फेरि अघि सारिने बताए ।
Leave a Reply