निबन्ध :निर्धूम आनन्द

पुण्य कार्कीको निर्धूम आनन्द (शनिबार साहित्य विशेष ) निबन्ध

 ग्लोवल टि.भी.      शनिबार, मंसिर ११, २०७८      0

निबन्ध निर्धूम आनन्द
पुण्य कार्की
निल–सगरीमा उठिरहेछ मेघलहरी ! यो दृश्यले मेरो आत्मा पुलकित भएर उठ्छ आकाशतिर । क्षणभरमै आनन्दले परिव्याप्त हुन्छु म । कारण कयौँ दिनदेखि धरणी माँ अनन्त प्यासले अलल्लिएकी छिन् । एक तपनमा छट्पटिएकी छिन् । मेघलहरीको अनुकम्पा मिलेमा त्यसले खसाउने छ निर्झर वर्षा । अनि लाखौँ कोटि तरुगणको अङ्कुरण फुट्छ यहाँ । धर्ती वदन शस्यश्यामला परिधानमा शोभायमान भई उठ्छ ।
त्यो हरियाली सुजनमा म यस्तो पोषण भेट्छु, जसबाट आफैँ भित्रभित्रै नव–नव अङ्कुरणमा टुसाउन थाल्छु । नव–नव लतिकामा लहरिन थाल्छु । नव–नव शाखा प्रशाखामा पल्लवित हुन थाल्छु । हरेक पत्र–दलमा पुष्पित हुन थाल्छु । प्रकृतिका अनन्त छटाले मलाई एक छाँटको मुनष्य बनाउँछन् । र, प्रकृतिका हर सृजनले मभित्र जीवनको राग थप्दछन् । भित्री दिलमा बाँच्नुको अनुराग उमार्दछन् ।
माटोमा उम्रिने र उभिने हर सृजन–लयले जीवनप्रतिको एक प्रेरणा जगाउँदछन् । जसबाट जीवनको उत्कर्षतिर लम्किन एक आलम्ब भेट्तछु । प्रकृतिमा एक अनवरत सृजन–लय चलिरहेको छ । र, त्यसले फिँजाइरहेको छ आनन्दको एक मधुरिमा । हृदयका द्वारहरु यसरी खुल्छन्, अब म कुनै संकीर्ण सीमाभित्र कैदी बनिरहन सक्तिन । आनन्दको एक अनन्त आभाले बेर्दछ मलाई । त्यस वखत सर्वाङ्ग जगत् सुन्दर सुन्दर देख्छु । स्थावर र जङ्गमका हर दृश्यहरु मनोहर मनोहर लाग्छन् । मलाई पलभरमा मृदुल मोहनीले बेर्दछ ।
जसै हृदयबाट छुट्छन् भावका नव–नव उन्मेष । म वेताज बादशाह जस्तै शक्तिशाली बनेको अनुभव गर्छु । त्यो घडी मेरो सानो बुकुरे झुपडी बन्छ पौरखको दरवार । आलिशान महलको सुख–धारा बर्सिन्छ आकाशबाट ।
स्वरको सरगममा खेल्ने संगीत स्रष्टालाई पनि त्यस भावले छोएको वखत यस्तै अनुभव हुँदो हो । अनुहार र आकृतिसित खेल्ने मूर्तिकारलाई पनि यस्तै सुख मिल्दो हो । जीवनको गहिराइ समातेर भाव र अनुकृतिमा बाँच्ने अभिनेय कलाकारलाई पनि यस आनन्दले बेर्दो हो । विभिन्न विधाका कलाजीवी स्रष्टाहरुको आनन्दलाई एक अनुमानसम्म कोर्न सक्छु । ठीकठीक के हुन्छ त्यो बताउन सक्तिन । र, मेरो ठहर यो छ स्रष्टा सृजन–कुण्डको पौडी–आनन्दमा डुब्न सकेन भने त्यो स्रष्टा नै होइन ।
स्रष्टा स्रष्टा हुनुको मनमौजी पलमा बाँच्न सक्तैन भने उसले अरुलाई पनि सृजन–सर्वतको मिठास चखाउन सक्तैन । त्यसैले जतिपनि विश्व–कलाका असली स्रष्टाले मनमौजी आनन्दको रस पिएर बाँचे । अरु–अरुलाई पनि त्यो खुमारी–खुवा पिलाउन खोजे । तर, धर्तीको मान्छे आज अनन्त सुख–सौन्दर्यबाट बन्चित छ । संसारको आपाधापी र एैँचातानामा लीप्त रहेको बेला सौन्दर्यका अनन्त सुसेली सुन्न बन्चित छ । कहाँ छ मान्छेलाई जूनको उज्यालो हेर्ने फुर्सत ? कहाँ छ मान्छेलाई फूलको सुगन्ध पिउने अवकाश ? कहाँ छ मान्छेलाई पुतलीको नर्तन हेर्न छुट्टी ? कहाँ छ मान्छेलाई पन्छीको उडान र गायन सुन्ने समय ? कोइला कमाउने धुनमा हिराको ठुन्को भुलिरहेछ । पत्थर बटुल्ने धन्दामा किमती स्वर्ण–सिक्का छाडिरहेछ ।
एक कथा जस्तो घटना कतै पढेको थिएँ । एकचोटि एक तरुण व्यक्ति सडकमा हिँडिरहेको थियो । ऊ नौजवान तन्नेरी थियो । जीवनको लक्ष्य खोजी रहेको थियो । जीवनको आनन्द खोजिरहेको थियो । बाटोमा हिँड्दै गर्दा एकदिन उसले एक रुपैयाँको सिक्का भेट्यो । त्यो सिक्का कसैले बाटोमा झारेको थियो । कसको सिक्का हो ? त्यो पनि थाहा थिएन । यताउती पल्याक–पुलुक हे¥यो । कसैले पनि उसलाई हेरिरहेको थिएन । चुपचाप सिक्का टिपेर गोजीमा हाल्यो ।
सिक्का भेट्ने वित्तिकै ऊ पुलकित आनन्दमा डुब्यो । ऊ यति खुसी भयो, यति खुशी भयो, जतिखेर पनि बाटो हिँड्दा भुइँमा आँखा गाडेर हिड्ँन थाल्यो । उसको आशा फेरि यस्तै सिक्का भेटियोस् भन्नेमा थियो । कहिले कहिले काकतालीवश सिक्कापनि भेट्तै गयो ।
उसको उमेरपनि विस्तारी विस्तारी बढ्दै गयो । युवा उमेरको मान्छे प्रौढ बन्दै गयो । तर, त्यतिन्जेलसम्म उसको भूइँतिर हेरेर हिँड्ने आदत बसिसकेको थियो । कसै गर्दा पनि त्यो आदत छुटेन । कारण उसलाई एक रुपैयाँको लोभ र आशक्तिले ग्रसित बनाइसकेको थियो ।
वृद्धावस्थामा पुगेपछि उसले एकदिन गोजीका सारा सिक्का निकाल्यो । एक सिक्का पनि उसले खर्च गरेको थिएन । ऊ सिक्का संचितीबाट धनी हुन चाहन्थ्यो । पूरै सिक्का हिसाब गर्दा करिव करिव पचास साठी रुपैयाँ बराबर भैसकेको थियो ।
यो कुरा आफ्ना बच्चाहरुलाई देखायो । र, बतायो आफूले गरेको पराक्रमको कथा । तर उसकी छोरीले भनी – “बाबा ! तपाईले आफ्नो पूरै जीवन भूइँतिर हेर्नमा बिताउनु भयो । सिर्फ पचास साठी रुपैयाँ कमाउनका लागि जिन्दगी खर्च गर्नुभयो । जीवनको यस दौडानमा तपाई हजारौँ सुन्दर सौन्दर्यबाट चुक्नु भयो । सुन्दर सूर्याेदयको सौन्दर्य थियो । सूर्यास्तको सौन्दर्य थियो । बेला बेलामा सयकडौँ आकर्षक इन्द्रधनुषहरु टाँगिएका थिए । मनमोहक बोटविरुवाहरुको घना जंगल परिव्याप्त थियो । सुन्दर निलो आकाश सीरैमाथि टाँगिएको थियो । बाटो हिँडिरहेका हजारौँ मानिसको ओठमा खिलिरहेको सुन्दर मुस्कान त्यो पनि गुमाउनु भयो । यी सबै चीजको रसपान गर्ने आँखा भूइँमा धसाइरहनु भयो । आफ्नो अमूल्य जीवनका कुनैपनि पल त्यस परिपूर्ण सुन्दरतालाई अवलोकन र अनुभव गर्न कहिल्यै खर्च गर्नुभएन ।”
छोरीका कुराले उसलाई हृदयमा झट्का लाग्यो । तर, उसले समय गुमाइसकेको थियो । हामी मध्येका धेरै मान्छे आज ठीक यही स्थितिमा छौँ । रुप अनेक किसिमको वरण गरेपनि सारमा कसैले झारेका सिक्का नै खोजिरहेका छौँ । हामी धन कमाउन र सम्पत्ति जोडजाम गर्न यति व्यस्त भयौँ कि जीवनका अन्य पहलूहरु जो ज्यादै महत्वपूर्ण छन्, जुन ज्यादै बहुमूल्य छन्, ती सबैलाई उपेक्षा गरिरहेका छौँ । तिनलाई नजरअन्दाजा लगाइरहेको छौँ ।
क्षुद्र चिजको औडाह र ऊफानमा बग्दाबग्दै जीवनको जुन विराट तत्व हो, त्यसलाई साक्षात्कार गर्न भुलिरहेका छौँ । कौडीको पछि लाग्दा जीवन सकिन्छ, आयू क्षीण बन्छ । तर, कोहिनूरको याद कहिल्यै आउन्न । कौडीको खोजले कहिनूरको सौन्दर्यबाट विमुख पारिरहेको छ । एक हिसाबले हामी साँच्चै भूइँ हेर्न बानी परिसक्यौँ । भूइँतिर मात्र हेर्ने मान्छेले व्योमको विशालता देख्तैन । आफ्नै धुरीमाथि टाँगिएको सप्तरंगी इन्द्रधनुष देख्तैन । चहचह खुलेका जूनतारा देख्तैन । आङ छोइ बग्ने पारिलो घाम देख्दैन ।
जूनतारा र घाम हेर्न त आँखा आकाशतिर उठाउनु पर्छ । घोप्टो पर्न बानी भएका आँखा कसरी गगन ताक्न सक्छन् ? निहुरिन आदत परेको सिर कसरी मास्तिर उचालिन सक्छ । समस्या नै यहीँनेर छ । कुवामै डुबुल्की मार्न बानी परेको मण्डूकले अनन्त सागरतिरको यात्रा सोच्नपनि सक्तैन । अनन्त दुःखको कारणै कूपमण्डूक वृत्ति, प्रवृत्ति र आवृत्ति हो ।
प्रकृतिको सान्निध्यमा रहनुको सुख र सौन्दर्य किन भुल्दै गयो मानिसले हँ ? अस्तित्वका लयहरुमा चलिरहेका नर्तनबाट किन विमुख बन्यो मान्छे हँ ? सकल पृथ्वीवासी वन्धुवान्धवका मुस्कान र प्रेमको अस्वादनमा किन कृपण बन्यो मान्छे हँ । मानवीय जगत्को मृदुल मोहनीबाट किन टाढाؘ–टाढा हुँदैछ मान्छे हँ ? अर्काे खजाना खोज्ने नाममा आफैँभित्रको अनमोल खजानाबाट किन विरत विरत हुँदैछ मान्छे हँ ? यिनै यक्ष–प्रश्नको गर्भमा डुबुल्की नलगाइकन फेरि मान्छे भूँइबाट आकाशतिर आँखा उठाउने हुँदैन ।
दालरोटी कमाउनु गलत चिज होइन । यो त बाँच्नको लागि चाहिने प्राथमिक चिज हो । छानो र बर्काे जोड्नु नराम्रो चिज होइन । यो पनि बाँच्नको लागि आधारभूत तत्व हो । तर, कमाउनुको धुनमा मान्छे, जब अतिवादको बाटो समाउँछ । आवश्यकताले भन्दापनि उसलाई जव अनन्त आशक्तिले दौडाउन थाल्छ । तव ऊ आफ्नो घर भुल्दछ । परिवार भुल्दछ । वन्धुवान्धव र इष्टमित्र भुल्दछ । प्रकृति भुल्दछ । आत्मिक विकास भुल्दछ । यसरी भुल्दाभुल्दै मान्छे, जीवनको सन्तुलन गुमाउन पुग्दछ । जीवनको सौन्दर्य गुमाउन पुग्दछ । आनन्द र प्रफुल्लता गुमाउँछ । अनि हेर्दा हेर्दै देख्ता देख्तै सुन्दर जीवन कुरुप बन्दछ । हेर्नै नहुने विरुप बन्दछ ।
जीवनको निर्धूम आनन्द खण्डित गर्ने अनेकन् तत्व छन् यहाँ । जीवनको सौन्दर्यबाट टाढा पार्ने अनेकन औडाह र ऊफानहरु छन् यहाँ । म त्यसको जरो उखेल्न आतुर छु । एक रुपैयाँका सिक्कामा घोप्टिएर निर्धूम आनन्दका अनन्त पल गुमाउन अस्वीकार गर्दछु ।
समाप्त

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *