कविन्द्र जेठ १२– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन सुरु भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले गत आइतबार देखि लागूहुने गरि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ र ग्याँसमा प्रति सिलिण्डर २०० रुपैयाँ बढाएको थियो । मुल्य बढेपछि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठन देखि राजनैतिक दलहरूले बिरोध गरिरहेका छन् ।
यो विरोध प्रदर्शन हो, केही समयअघि विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर गठन भएको नेकपा(बहुमत) पार्टीले आयोजना गरेको । सरकारले इन्धनमा भारी मुल्यवृद्धि गरेपछि नेकपा(बहुमत)ले विरोध प्रदर्शनको आयोजना गरेको हो । नेकपा(बहुमत)ले मुल्यवृद्धि फिर्ता नहुँदासम्म विरोध कायमै राख्ने जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै सरकारले गत आईतवार रातिबाट लागू हुने गरि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रति लिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पु¥याएको छ । मुल्य बढेपछि सरकारमै रहेका दलका भातृ संगठनले समेत प्रदर्शन गरेका थिए । उनीहरुले हरेक दिनजसो विरोध प्रदर्शन गरिरहेका छन् ।
नेकपा एमालेले समेत पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध गर्दै देशव्यापी प्रदर्शन गरेको थियो । एमालेले मुल्यवृद्धिविरुद्ध संसदमा समेत जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा एमालेले दर्ता गराएको प्रस्तावमाथि छलफल हुने क्रममै छ । पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर हटाउन एमालेले माग गर्दै आएको छ ।
यता नेकपा क्रान्तिकारी माओवादीसँगै जनगणतान्त्रिक मोर्चाले समेत जेठ १८ गते मुल्यवृद्धिविरुद्ध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । जताततै मुल्यवृद्धिविरुद्ध प्रदर्शन भइरहेको भएपनि सरकार भने मुल्य घटाउने पक्षमा देखिएको छैन । पेट्रोलियम पदार्थमा मुल्य बढेपछि सार्वजनिक सवारी साधनमा समेत एकसातामै दोस्रोपटक भाडा बढेको छ । खाद्यान्नमा समेत इन्धनमा भएको मुल्यवृद्धिको असर पर्न थालिसकेको छ ।
Leave a Reply