एजेन्सी । इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।
पुनेमा शुक्रबार भएको खेलमा पाहुना टोली इंग्ल्यान्डले भारतमाथि ६ विकेटको जित निकालेको हो ।
भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले ।यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए ।
भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि पर्याप्त भएन ।
यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
Leave a Reply