
माघ १० – अमेरिकाकाे न्युयोर्कमा एफबिआइका एक पूर्व शीर्ष अधिकारी पक्राउ परेका छन्। न्याय विभाग (डिओजी)ले त्यहाँका पूर्व शीर्ष अधिकारी चार्ल्स म्याकगोनिगललाई पक्राउ गरेकाे हाे। उनलाई रसियन अर्बपति ओलेग डेरिपस्कासँगको सम्बन्धको कारण पक्राउ गरिएकाे त्यहाँका सञ्चारमाध्ययमले जनाएका छन्।
म्याकगाेनिगल पहिले एफबिआइको न्यूयोर्क फिल्ड अफिसमा काउन्टर इन्टेलिजेन्सको विशेष एजेन्ट थिए। २०२२ मा डेरिपास्काले विभिन्न प्रतिबन्धहरूको उल्लंघन गरेकाे आपराधिक आरोप डिओजीले लगाएकाे थियाे।
अभियोजनकर्ताहरूले म्याकगोनिगल र सर्गेई शेस्टाकोभलाई अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनको उल्लंघन र मनी लन्ड्रिङको षड्यन्त्र गरेको आरोप लगाएका छन्। शेस्टाकाेभ एक अदालतको दोभाषे हुन्।
दुवै प्रतिवादीलाई जनवरी २१ मा गिरफ्तार गरिएको थियो र म्यानहट्टनको संघीय अदालतमा मजिस्ट्रेट न्यायाधीश सारा एल केभसमक्ष जनवरी २३ मा उपस्थित गरिएकाे थियाे।
म्याकगोनिगल एफबिआइका उच्च श्रेणीका पूर्व अधिकारीहरूमध्ये एक हुन् जसलाई अपराधको आरोप लगाइएको छ।
‘चार्ल्स म्याकगोनिगल, पूर्व उच्चस्तरीय एफबिआइ अधिकारी र सर्गेई शेस्टाकोभ, एक अदालतको दोभाषेले अमेरिकी प्रतिबन्धहरू उल्लंघन गरे’, अमेरिकी अधिवक्ता डेमियन विलियम्सले एक विज्ञप्तिमा भनेका छन्।

Leave a Reply