पछिल्लो समय विभिन्न मुलुकमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले नेपाल लगाएत छिमेकी मुलुक भारत पनि त्यसबाट अछुतो रहन सकेन ।
नयाँ भेरियन्टको कोरोना भाइरस तिब्ररुपमा फैलिएसंगै भारतमा केही समय अघि अधिकाश राज्यमा लकडाउन गरिएको थियो । विस्तारै सङ्क्रमण कम भएपछि हाल लकडाउन खोलिएको छ । सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी पनि गरेका छन् ।
उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् ।
दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्ने छ । तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् । विद्यार्थी घरमै अनलाइनमार्फत पढ्नेछन् ।
यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ । महाराष्ट्रमा आउँदो ३१ गतेदेखि कक्षा ८ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।
त्यसैगरी आन्ध्र प्रदेशमा अर्को महिना विद्यालय खुलाउने तयारी छ । राजस्थानमा भने विद्यालयमा नयाँ भर्नाका लागि अनुमति दिइएको छ । तत्काललाई भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनुमति दिइएको छैन ।
त्यसैगरी उत्तर प्रदेशका विद्यालयमा साउन ४ गतेदेखि ९ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।
Leave a Reply