हैटीले राष्ट्रपति जोभेनल मोसेको हत्यापछि पूर्वाधारहरको सुरक्षा लागि भन्दै विदेशी सेनाको सहयोग मागेको छ। हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिकी सेनाको सहयोग मागेको हो ।
हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताइएको छ ।यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो ।
राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ । त्यस्तै, तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ ।अमेरिकाले सैनिक नपठाए पनि घटनाको छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने जनाएको छ ।
हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ । यस हत्याकाण्डपछि अहिले हैटीमा संकट सुरु भएको छ ।
Leave a Reply