चीनमा भीषण बाढी, कम्तिमा १२ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ ।

बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोहरुमा सडकहरू डुबेको र कारहरु बाढीमा बगेको दृश्य देख्न सकिन्छ । पछिल्लो बाढीले क्षति पुऱ्याएका कारण हेनानको बाँधमा पनि क्षति पुग्न सक्ने अनुमान गरिएको छ । चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार हेनान प्रान्तमा ६० वर्षयताकै ठूलो पानी परेको हो ।

जङ्जो सहरमा २०१.९ मिलिमिटर प्रतिघण्टासम्म पानी परेको ग्लोबल टाइम्सले जनाएको छ । यसअघि सन् १९७५ मा १९८.५ मिलिमिटर पानी परेको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विज्ञहरुका अनुसार इन्फा आँधीका कारण वर्षा भएको हो ।राष्ट्रपति सी चिनफिङले अधिकारीहरुलाई तत्काल उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *