भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ ।
भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन् । अब छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको समेत बताएका छन् । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।
खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महिनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको छ । यसरी भारतले खोप निर्यातमा लगाएको रोक हटाएसँगै अब नेपालमा यसअघि खरिद गरेको र आउन बाँकीमध्ये १० लाख डोज कोभिसिल्ड खोप छिट्टै आउने सम्भावना बढेको छ ।
नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अग्रीम भुक्तानीसमेत गरिसकेको छ। नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।
Leave a Reply