११ जना अफगान नागरिकलाई सरकारले उच्च आयुक्तको कार्यालय जिम्मा लगाउने

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

काठमाडौं ,मङ्सिर ३गते।
नेपाल सरकारले ११ अफगान नागरिकलाई राष्ट्र संघीय शरणार्थी उच्च आयुक्तको कार्यालय (युएनएचसिआर)को जिम्मा लगाउने भएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार ११ जना अफगान नागरिकलाई युएनएचसिआरको जिम्मा लगाउने निर्णय भएको जानकारी दिए।

ती नागरिकहरूलाई अध्यागमन विभागको सेल्टरमा राखिएको थियो।

अवैध रूपमा नेपाल भित्रिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ८ गते काठमाडौंको सिनामंगलस्थित फेसबुक नामक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
विभाग र गृहबीच आज छलफल भएको थियो। त्यसअनुसार उहाँहरूलाई युएनएचसिआरको जिम्मा लगाउने निर्णय भएको छ,’ गृह प्रवक्ता पोखरेलले भने, ‘उहाँहरूलाई बुझाइसक्यो कि छैन भन्ने अहिले जानकारी भएन।’

अफगान नागरिक भारतको दिल्लीसम्म वैध रूपमै पसेका थिए। तर त्यहाँबाट आफ्नो सुरक्षाको लागि उनीहरू अवैध तरिकाले स्थलमार्गबाट रूपन्देहीको नाका हुँदै नेपाल आइपुगेका थिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार उनीहरूलाई युएनएचसिआरको जिम्मामा लगाइसकेको छ।

उनीहरू आफ्नो देश फर्किन सक्ने/नस्केनेबारे अनुसन्धान गरी रिपोर्ट बुझाउन गृहमन्त्रालयस्तरबाटै निर्णय भएको बताए।

‘उनीहरू आफ्नो देश फर्किन सक्ने अवस्था छ/छैन भन्ने अनुसन्धान गर्न हामीले युएनएचसिआरलाई लेखि पठाएका छौं। रिपोर्ट पेश गर्ने गरी जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘उहाँहरूले नै अनुसन्धान गर्ने भएको हुँदा हामीले मान्छेहरूलाई पनि पठाइसकेका छौं।’
त्यस्तै अफगान नागरिकहरू फेरि पनि नेपाल आउन सक्ने भन्दै नाकामा सुरक्षा व्यवस्था कडा पहिल्यै पारिएको उनले बताए। युएनएचसिआरलाई रिपोर्ट बुझाउन सीमा अहिले नतोकिएको तर यथासिघ्र बुझाउन भनिएको उनले बताए।

नियन्त्रणमा लिइएकामध्ये पाँच जना एकै परिवारका छन्। अरू बाँकी ६ जना छुट्टाछुट्टै परिवारका हुन्। उनीहरू पक्राउ परेपछि के गर्ने भन्नेमा विभाग अन्यौलमा थियो।
विकल्प खोज्दै जाँदा एकै परिवारका पाँच जनासँग मेक्सिकोको भिसा भएको हुँदा त्यहाँ पठाइएको थियो। तर मेक्सिको नपुग्दै श्रीलंकास्थित ट्रान्जिटबाटै उनीहरू पुन: नेपाल फर्किनु परेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *