यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।
केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।
यमनको समाचार वेबसाइट अलमस्दरले श्रम मन्त्रालयका उपसचिव मारिएका र दुई जना उपमन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले विस्फोट गराएको आरोप लगाएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक विष्फोट भएको आवाज सुनिएको जनाएको छ । विष्फोटपछि गोली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आक्रमण गरेको देखिन्छ ।
यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको विवरण प्राप्त भएको छ।
Leave a Reply