इस्तानबुल (टर्की)- फागुन २६गते ।रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ।
रुसी समकक्षीसँग टर्की भेट गरेपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएकाले त्यसलाई मान्न नसकिने बताएका हुन्।
रुसी विदेशमन्त्री सर्जी लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे। युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको आरोप उनले लगाए।
यद्यपि दुवै पक्ष मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न सहमत भएको बताइएको छ। उनले आफूहरू पुन: भेट्न तयार रहेको समेत जानकारी दिए।
‘म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु,’ उनले भने।
लाभ्रोभले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्याएका थिए। ‘कथित स्थल प्रतिरक्षा फौज’ले साधारण मानिसलाई पनि बन्धक बनाएको उनको भनाइ थियो। लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाएका थिए। रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने उनको भनाइ थियो।
Leave a Reply