प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ती नै हो : डा. नारायण खड्का

 ग्लोबल टिभि      सोमवार, पुस २५, २०७९      0

पुस २५ –   हालैको आम निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर पुगेको छ । हठात् आइपरेको यो परिस्थितिको ‘निर्मम समीक्षा गर्न’ कांग्रेसले २८ पुसदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

निर्वाचनमा ठूलो दल भएर पनि कांग्रेसलाई सत्ताबाहिर पुर्‍याएको भनी पार्टीभित्र सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ । विश्वासपात्रहरूले गुमराहमा राखेर उनलाई परिस्थिति आकलन गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप–प्रत्यारोप कांग्रेसमा छ । विश्वासपात्रमध्येमा पर्ने डा. नारायण खड्का भने सभापतिलाई कसैले गुमराहमा राख्न नसक्ने बताउँछन् ।

यद्यपि, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री पद छाडेर भए पनि गठबन्धन कायम राख्नुपर्ने खड्काको मान्यता थियो । निवर्तमान परराष्ट्रमन्त्री खड्का वर्तमान सरकारको आयु भने लामो नभएको बताउँछन् ।

कांग्रेसको सत्ता–राजनीति, सरकारको विकल्प दिने कसरत, अघिल्लो सरकारको परराष्ट्र नीतिलगायत विषयमा डा. खड्कासँगको कुराकानी :

कांग्रेस नेतृत्वको सरकार बन्ने कसरत भइरहेको बेला गठबन्धन नै रहेन । कांग्रेसले आफ्नो नेतृत्वको गठबन्धन किन जोगाउन सकेन ?

कांग्रेसको कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । हामी सबैभन्दा ठूलो दल हौं र गठबन्धनलाई डेढ वर्ष सफलतापूर्वक नेतृत्व दिएको पनि हो । स्थानीय, प्रदेश र संघको शान्तिपूर्ण निर्वाचन कांग्रेसले गरायो । जुन तरिकाले जनताले मत दिए त्यसको आधारमा पहिलो कार्यकाल कांग्रेसले प्रधानमन्त्री दाबी गर्ने कुरा पनि रह्यो ।

सभापतिले प्रचण्डलाई पहिलो कार्यकाल दुई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी तीन वर्ष उहाँलाई दिने भन्नुभएको थियो । कुराकानी राम्रै भइराखेको थियो । प्रचण्डलाई पार्टीबाट दबाव भयो पनि होला । शेरबहादुरजीलाई पनि दबाव थियो । प्रचण्डले अर्को विकल्प पाउनुभयो ।

उहाँ प्रधानमन्त्री हुँदा ३२ सिटको दलले सरकारको नेतृत्व गर्ने हो । ३२ सिटको दलको प्रधानमन्त्री हुँदा हामी धेरै पद पाउँछौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भयो होला । विकल्पमा खेल्ने अवसर प्रचण्डजीलाई भयो । उहाँले ओलीकहाँ पनि आफ्ना मान्छे खटाइरहनुभएको थियो । हामीले ‘इन्गेज’ त गरिराख्यौं, उहाँले पहिलोपटक प्रधानमन्त्री आफू नै हुनुपर्ने कुरा राख्नुभयो ।

प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुन खोज्नुमा सामाजिक र पारिवारिक कारण पनि थियो होला । पत्नीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएकाले सुरुमै प्रधानमन्त्री बन्ने चाहना थियो होला । अथवा प्रधानमन्त्री हुनैपर्ने केही बाध्यता उहाँमा थियो होला ।
राजनीतिका सबै कुरा हेर्दा कांग्रेसले प्रधानमन्त्री छोड्नु बेस हुने मलाई पनि लागेको थियो । प्रधानमन्त्री छोडे पनि सत्ताको केन्द्रमा कांग्रेस नै हुनेथियो । गठबन्धन रहन्छ भनेर हामीलाई माओवादीको र माओवादीलाई कांग्रेसको मत गएको हो, तर राजनीतिक नैतिकता अहिले भएन ।

हाम्रा कुरामा विश्वास गरेर कांग्रेसका मतदाताले माओवादीलाई पनि भोट दिए । प्रचण्ड कांग्रेसका मतदाताले पनि भोट दिएर निर्वाचित हुनुभएको हो । उहाँको पृष्ठभूमि, राजनीतिक व्यवहार, अभ्यासहरू हेरेर सुरुमै छोडिदिएको भए हुन्थ्यो । उहाँलाई प्रधानमन्त्री नदिनु गल्ती नै हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *