आज पश्चिम राप्ती, बबई र तिनाउमा बाढीको उच्च जोखिम

 ग्लोबल टिभि      बिहिबार, असार ३, २०७८      0

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार पनि पानी पर्नेक्रम जारी छ । वर्षात जारी रहेकोले उच्च सर्तकता अपनाउन विभागले आग्रह समेत गरेको छ । बिहीबारको वर्षातले पश्चिमको राप्ती, बबई र तिनाउमा बाढीको बहाव बढ्ने बताइएको छ । देशभर पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म छ । यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ ।कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *