मतदान सामग्री पठाउन थालियो संखुवासभाको भोटखोलामा

 ग्लोबल टिभि      आइतवार, कार्तिक २७, २०७९      0

कात्तिक २७ –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको चारदेखि पाँच दिनसम्म लाग्छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो । पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकमा आज मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

जिल्लाको निकै दुर्गम र विटक क्षेत्र किमाथाङ्का, रिदाक र थुदामसहित तीन मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका कर्मचारी र सुरक्षकर्मी खटाइको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले आजदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । भोटखोला गाउँपालिकामा पाँच वटा वडामा १० मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिँड्नुपर्छ ।

भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिँड्नुपर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिनलगायत सामग्री बोक्नु निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो । भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए । जिल्लामा दुई अस्थायीसहित एक सय ६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।

एक हजार बढी सुरक्षाकर्मी परिचालन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि जिल्लामा पाँच सय १३ नेपाल प्रहरी, नौ सय २५ म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी एक हजार नौ सय ३८ सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा एक निर्वाचन क्षेत्र छ । जिल्लामा आठ मतदानस्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति संवेदनशील मानिएको छ । जिल्लाका एक सय आठ मतदानस्थललाई सुरक्षा सम्वेदनशीलका आधारमा वर्गीकरण गरिएको छ ।

जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति सम्वेदनशील मतदानस्थल भनी विश्लेषण गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवका अनुसार एक सय तीन मतदानस्थलमध्ये ८२ मतदानस्थल सम्वेदनशील र १८ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । सुरक्षा सम्वेदनशीलका हिसाबले तीन भागमा वर्गीकरण गरिएको प्रजिअ यादवले बताए । अति सम्वेदनशील मतदानस्थलमा चार हजार ९१ मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति सम्वेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *