यस्तो छ सत्ता गठबन्धनमा सिट बाँडफाँटको विवरण, कुन क्षेत्रमा कस्को दाबी?

 ग्लोबल टिभि      बिहिबार, भदौ ३०, २०७९      0

भदौ ३० –गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।

‘कांग्रेस ९० बाट तल झर्न तयार भएको छैन, माओवादीले ५० भन्दा तल जाने कल्पना गरेको छैन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २० सिटभन्दा तल जान तयार छैनन्’, कार्यदलका एक नेता भन्छन्, ‘नमिलेका त्यही १५–२० सिटमा हो ।’

कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।

विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।

दलहरुको एउटा मात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा कांग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ । गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।

कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार ताप्लेजुङ कसले लिने भन्ने टुंगिएको छैन । पाँचथर कांग्रेसले लिनेछ भने इलाम–१ एकीकृत समाजवादी र २ कांग्रेसले लिने छ ।

संखुवासभा र तेह्रथुम कांग्रेसले लिनेछ भने भोजपुर माओवादी केन्द्रले पाउने पक्काजस्तै छ । धनकुटामा कांग्रेस र जसपाको दाबी छ । यद्यपि कांग्रेस नेताहरु धनकुटा छाड्न सक्ने अवस्था नभएको बताउँछन् ।

सोलुखुम्बु र खोटाङमा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ओखलढुंगा कांग्रेसलाई छाड्न दलहरु तयार छन् । उदयपुर १ कांग्रेस र २ माओवादीले लिनेछ ।

झापाको १, ३ र ४ कांग्रेसले लिनेछ । २ मा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ५ माओवादीलाई छाड्न कांग्रेस तयार छ । मोरङको १, २, ३ र ६ कांग्रेसले लिने पक्का भएको छ । माओवादीले ४ र ५ मा दाबी गरेको छ भने जसपाले क्षेत्र नम्बर ५ कुनै हालतमा छाड्न नसकिने अडान लिएको छ ।

कांग्रेस नेताहरुले पनि मोरङ ४ र ५ मध्ये एउटा आफ्नो दललाई दिनुपर्ने बताएका छन् । सुनसरीको १ जसपालाई दिन अरु दल सहमत भएका छन् भने २, ३ र ४ कांग्रेसले लिने छ ।

नेताहरुका अनुसार सिट बाँडफाँटमा सबभन्दा गाह्रो प्रदेश २ का जिल्लामा देखिएको छ । कतिपय क्षेत्रमा तीन दलकै दाबी कायम छ, जसले गर्दा सहमति जुटेको छैन ।

सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ । सिरहा १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ ।

धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ भने ४ कांग्रेसलाई छाड्न दलहरु सहमत छन् ।

यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ । सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।

रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।

बारा क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ । पर्सामा कुनै सहमति जुटेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।

बाग्मती प्रदेशका धेरै जिल्लामा सहमति जुटेको छ । काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० मा कांग्रेसको मात्र दाबी छ भने ७ जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दल सहमत भएका छन् । २ मा कांग्रेससँगै माओवादीको दाबी छ भने ९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

भक्तपुरको दुबै क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीको दाबी छ ।

कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार काभ्रे र सिन्धुपाल्चोक दुबैमा क्षेत्र नम्बर १ माओवादीले लिनेछ भने २ कांग्रेसको भागमा पर्नेछ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा कांग्रेसको मात्र दाबी परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा कांग्रेसको मात्र दाबी छ ।

कार्यदलका सदस्यहरुका अनुसार कास्कीको तीनवटै क्षेत्रमा कांग्रेसको दाबी छ । क्षेत्र नम्बर १ कांग्रेसले पाउने पक्काजस्तै भएको छ भने २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । कार्यदलका एक सदस्यका अनुसार कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने सम्भावना बढी छ ।

तनहुँ र स्याङ्जाको (१ र २) दुबै क्षेत्र कांग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले लिने छ भने लमजुङ माओवादी केन्द्रले पाउने छ ।

नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा कांग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा. प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भनेका छन् । यसमा सहमति जुटेको छैन ।

सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिनेछ । चितवनको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।

बाग्लुङको १ राष्ट्रिय जनमोर्चा र २ माओवादी केन्द्रले लिने छ । गोरखाको दुबै क्षेत्रमा माओवादीको दाबी छ, तर कांग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।

गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् ।

प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ ।

बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।

रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।

अर्घाखाँची कांग्रेसको भागमा परेको छ भने पाल्पाको २ क्षेत्रमध्ये कांग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । कांग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै निरन्तरता दिन चाहेकाले सहमति जुटेको छैन ।

नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् ।

कर्णाली प्रदेशका धेरै जिल्लाको सिट बाँडफाँट टुंगिएको छ । सुर्खेतको दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ भने सल्यान र डोल्पा एकीकृत समाजवादीले दिने छ । रुकुम पश्चिम, जाजरकोट, हुम्ला, कालीकोट माओवादी केन्द्रले पाउने लगभग पक्का भएको छ । मुगुमा कांग्रेस एकीकृत समाजवादी र माओवादीको दाबी छ भने जुम्लामा कांग्रेस र माओवादीको ।

दैलेखको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले पाउने निश्चित जस्तै छ ।

कञ्चनपुरको १ माओवादीले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ । वैतडीमा कांग्रेस र माओवादीको दाबी छ भने डोटीमा कांग्रेस र एकीकृत समाजवादीको । अछाम क्षेत्र नम्बर १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ । बाजुरा र दार्चुला कांग्रेसले लिने छ भने बझाङमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको कार्यदलका सदस्यहरु बताउँछन् ।

डडेलधुराको प्रतिनिधिसभा सदस्यको सिट प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई समर्थन गर्न सबै दल सहमत छन् । यस्तै कैलालीको क्षेत्र नम्बर ५ प्रधानमन्त्री पत्नी आरजु देउवालाई छाड्न अरु दल सहमत छन् । अरु चार क्षेत्रबारे भने छलफल नभएको कार्यदलका सदस्यहरु बताउँछन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *