सडक डिभाइडरमा धमाधम बुद्धमूर्ति

 ग्लोबल टिभि      बुधबार, जेष्ठ २६, २०७८      0

प्रदिप आचार्य, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम भइरहेको हो ।

पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा राख्नले नगरको सौन्दर्यता थप बढाउने विश्वास गरिएको छ । लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट मूर्ति राख्ने काम भइरहेको हो ।

कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर अहिले धमाधम मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । उनले भने, ‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत अहिले मूर्ति राख्ने काम जारी छ । यसले नगरको सुन्दरता थप गर्ने छ ।’

पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि असार मसान्तसम्ममा सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । ‘डेढ महिना अघि मात्रै उपभोक्ता समिति गठन भएको हो । यसबीचमा निषेधाज्ञाले काममा केही ढिलाइ भएको छ । तर पनि हामीले रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिराखेका छौं’, उनले भने ।

अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको पाटनमा मूर्ति धमाधम तयार भइरहेका छन् । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम जारी छ । ‘बाँकी मूर्ति पनि असार भित्रै तयार हुन्छन् । त्यसपछि हामीले यहाँ ल्याएर जडान गर्नेछौं’, उपभोक्ता समिति कोषाध्यक्ष कृष्ण भट्टराईले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *