सुन तस्करी प्रकरणमा छानबिन समिति गठनका लागि भोटिङ गराउन एमालेको माग

 ग्लोबल टिभि      मङ्लबार, साउन २३, २०८०      0

साउन २३ –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ। छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी राख्ने एमालेले जनाएको छ।

मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए। उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे।

उनले छानविन समिति गठनका लागि भोटिङ गराउन मागसमेत गरे। ‘कुनै पनि पार्टीले ह्वीप नलाऔं। सभामुखलाई आग्रह गर्न चाहन्छु, छानविन समिति बनाउन भोटिङ गराउनुस्। यदि कसैले नचाहेको रहेछ भने एमालेको आन्दोलन स्थगित गरिदिन्छौं,’ उनले भने।

उनले नेपाल सुन तस्करीको देश भनेर चिनिने अवस्था आएको र छिमेकी देशहरू भारत र चीनलेसमेत चासो राखेको बताए। उनले राजस्व विभाग वा सिआईबीले गृहमन्त्री, अर्थमन्त्री वा प्रधानमन्त्री कार्यालयको बयाण कसरी लिन्छ भन्दै प्रश्न गरे। त्यसैले कानुनी अड्चनहरू भए त्यसलाई फुकाएर भए पनि छानविन समिति बनाउनुपर्ने उनको भनाइ छ।

उनले उच्च स्तरीय छानविन समिति बनाउने नजीर अमेरिका, भारतलगायत ठूला देशमा रहेको बताउँदै यस प्रकरणमा पनि आवश्यक रहेको बताए। उनले सुडान काण्ड र ललिता निवास प्रकरणको उदाहरणसमेत दिए।

‘सुडान काण्डमा बनेको छानविन समितिले गर्दा नै आज त्यतिबेलाका प्रहरी प्रमुखहरू सजायका भागिदार बने। ललिता निवास प्रकरणमा छानविन समिति बनाएरै आज पूर्व प्रधानमन्त्रीहरूविरु छानविन हुने अवस्था आएको छ,’ उनले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *