भूकम्प पीडितलाई आर्थिक सहयोग टुंगिएको छैन तर ३ लाखभन्दा बढी नै हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

 ग्लोबल टिभि      आइतवार, कार्तिक १९, २०८०      0

कार्तिक १९ –   सरकारले ३ दिनभित्र भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पुगिसक्ने जनाएको छ। आज बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकपश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले केहि राहत सामग्री र औषधी प्रभावित क्षेत्रमा पुगिसकेको र केही बाटोमा जाँदै गरेकाले ३ दिनभित्र पुगिसक्ने जानकारी दिए। उनले आजबाट खाद्यान्न वितरण हुने बताए।

उनले भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज र आर्थिक सहयोगबारे छलफल चलेपनि निर्णय हुन बाँकी रहेको बताए। उनले यस अगाडि गएको भूकम्पमा प्रति घरपरिवार ३ लाख राहत घोषणा गरेकाले त्यसमा केहि थप हुने सम्भावना रहेको जानकारी दिए। उनले भने ‘प्रस्ताव आ-आफ्नो ढंगले राखेका छौं। त्यो चाडै टुंगिन्छ।’

सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनर्स्थापनालाई प्रभावकारी तुल्याउने गरी काम गरेको उनको भनाई छ। उनले घाइते सबैको सरकारी अस्पतालले निशुल्क उपचार गरिने बताए। उनले निजीमा निशुल्क उपचारको प्रस्ताव गरेको बताए। ‘सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । उपचार निःशुल्क हुन्छ जति ठूलो उपचार भए पनि ।’ उनले भने, ‘निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव गरेको छु’

मन्त्री बस्नेतले १ जनाको मेरुदण्ड भाँचिएकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको बताए।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १ सय ५७ को ज्यान गएको छ। करिब २ सयको संख्यामा उपचारत छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले शनिबार साँझसम्म जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको बताए। यस्तै जाजरकोटको छिमेकी जिल्ला रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी र छेडागाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकामा क्षति भएको छ। यस्तै रुकुमपश्चिमका आठबिसकोट र सानीभेरी नगरपालिकामा क्षति भएको हो। यस क्षेत्रका अधिकांश घरहरू भत्किएका छन्। रातको समयमा आएको भूकम्पका कारण सुतेका मानिसहरू घरबाहिर निस्कनै नपाएको स्थानीयको भनाइ छ। भूकम्पपछि घरहरू भत्किएको र धेरैजना त्यसमा पुरिएको प्रहरीको भनाइ छ।

जाजरकोटमा ज्यान गुमाउने मध्येभेरी नगरपालिकामा पुरुष १४ जना, महिला २८ जना गरी ४२ जना, नलगाड नगरपालिकामा पुरुष १६, महिला ३९ गरी ५५ जना, कुशे गाउँपालिकामा पुरुष ३ र महिला ४ गरी ७ जना र छेडागाड नगरपालिकामा १ जना महिला छन्।

त्यस्तै रुकुमपश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। प्रदेश प्रहरी प्रवक्ता भट्टराईका अनुसार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी नगरपालिकामा १० जना गरी ५२ जनाको मृत्यु भएको हो। रुकुमपश्चिममा भने ७९ जना घाइते भएका छन्।

शनिबार दिनभर उद्धार तथा घाइतेको उपचारमा नेपाली सेना, प्रहरी र स्थानीयहरू जुटेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *