सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

 ग्लोबल टिभि      बुधबार, अशोज २०, २०७८      0

काठमाडौं- अदालतले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौंले पहिलो चरणको अनुसन्धानका लागि उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।

पक्राउ पर्नेमा तामाङसहित भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने रहेका छन्। उनीहरू सहकारीको विभिन्न पदमा कार्यरत् कर्मचारी हुन्।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

दोस्रो चरणको अनुसन्धानका लागि पुनस् अदालतको अनुमति लिइने र अनुसन्धान गर्दै जाँदा अन्य कसुर देखिन आए मुद्दाको प्रकृति अनुसार थप थुनामा राख्नेरनराख्ने टुंगो हुन ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए । साथै प्रहरी अनुसन्धान नसकिने भएकाले तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम रहेको छ।

बचतको ठूलो हिस्सा आफ्ना अन्य कम्पनीहरूमा लगानी गर्दै आएका तामाङले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन्। ती कम्पनीले सहकारीमा ऋण तिरेको छैन। निक्षेप माग्न जाँदा नपाएपछि बचतकर्ताहरू प्रहरीमा पुगेका हुन्। १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए।

ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *